तनहुँ १२ माघ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको साेमवार निरीक्षण गरेकी छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री शर्मालाइ जानकारी गराए । अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भारत सरकारसँग तीन सय शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री शर्माकाे ध्यानाकर्षण गराइएको थियो । त्यस क्रममा उनले श्वासप्रश्वास उपचार केन्द्रबाट भइरहेको सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् ।
स्वास्थ्य मन्त्री शर्माले उपचार केन्द्रलाई विशिष्ट अस्पतालको रूपमा विकास गरिने बताइन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताललाई श्वासप्रश्वास अस्पतालको रूपमा विकास गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा दिन यहाँ अस्पताल स्थापना गरिएको थियो । सरकारले वि.सं २०६७ सोसम्बन्धी निर्णय गरेको थियो । हाल यहाँ पचास जनरल वाड सञ्चालनमा छन् ।
वि. सं २०७५ सालमा सोही ठाउँमा रहेको सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भएकाे लेखा प्रमुख यम प्रसाद पगेनीले वताए ।






